विनाप्रतिस्पर्धा नेपाल प्रिमियर लिगमा समावेश गराउन पोखरा एभेन्जर्सको माग
पोखरा एभेन्जर्सले नेपाल क्रिकेट संघ (क्यान)सँग आगामी नेपाल प्रिमियर लिग (एनपिएल)मा आफूहरूको टोलीलाई प्रतिस्पर्धा बिना समावेश गराउन माग गरेको छ। दुई वर्षअघि विवादास्पद नेपाल टी-२० लिगमा चार करोड लगानी गरिसकेकाले स्वामित्व सुरक्षित गरिनुपर्ने दाबी गर्दै मालिक सुवोध त्रिपाठीले आइतबार पत्रकार सम्मेलनमा भने, “हामी एनपिएलका सबै सर्त मान्न तयार छौँ, तर पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धाबाट हटाएर सिधै फ्रेन्चाइज दिनुपर्छ।”
त्रिपाठीले पोखराका लागि दुई वा सोभन्दा बढी कम्पनीले समान रकमको दाबी गर्दा गोला प्रथाबाट टोली छनोट गर्न लागिएकोमा असन्तोष व्यक्त गरे। उनले भने, “हामीले अरू टोलीले दिएजति नै रकम दिन तयार छौँ, तर गोला प्रथामा नलगी सिधै हामीलाई टीम दिनुपर्छ।”