जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि जितेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
सुदूरपश्चिमले दिएको १८५ रनको चुनौती जनकपुरले ५ विकेटको क्षतिमा पुरा गर्यो। खेलमा जनकपुरका लाहेरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गर्दै ८७ रनको योगदान गरे। जवाफी ब्याटिङमा जनकपुरले पावरप्लेमै ८७ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको थियो।
जनकपुरको पारीमा आशिफ शेखले ३३ रन बनाए भने मोहम्मद मोहसिनले ९ रनमा आउट भए। जेम्स निसम भने यस पटक निराशाजनक प्रदर्शन गर्दै ४ रनमा पभेलियन फर्किए।
सुदूरपश्चिमले आफ्नो पारीमा उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेको थियो। ओपनर साइफ जाइबले ६९ रन बनाए, जसमा ८ चौका र २ छक्का सामेल थिए। अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन जोडे। ब्रान्डन म्याकमुलम र हर्मित सिंहले समान १४–१४ रन बनाए भने स्कट कुग्लिङ १३ रनमा आउट भए।
बलिङतर्फ, जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३–३ विकेट लिए। जेम्स निसम र ललित राजवंशीले १–१ विकेट लिएर टोलीलाई जित दिलाउन मद्दत गरे।
यस जितसँगै जनकपुर बोल्ट्स एनपीएलको नयाँ च्याम्पियन बनेको छ।