जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको चुनौती दियो
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको चुनौती प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो। जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए, जबकि लाहिरु मिलान्थाले २४, आसिफ शेखले १६, र कुश कंसाकारले अविजित २२ रनको योगदान दिए।
जनकपुरले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि अनिल शाह र आसिफ शेखले ४८ रनको साझेदारी गरे। पावर प्लेमा ५६/१ को स्थितिमा रहेको जनकपुरले कुनै समय ९५/१ को बलियो स्थितिमा भए पनि मिडल ओभरमा लगातार विकेट गुमाउँदै १३६ रनमै सीमित भयो।
लुम्बिनी लायन्सका बलरहरू मध्ये युवा स्पिनर अभिशेष गौतमले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए, जबकि साद विन जफरले ३ ओभरमा १२ रनमा २ विकेट लिए।
सन्दिप जोराले पनि २ ओभरमा १३ रन खर्चेर १ विकेट हात पारे। खेलको निर्णायक क्षण भने १२औं र १३औं ओभरमा आयो, जब सन्दिप जोराले सेट ब्याटर अनिल शाहलाई आउट गरे र त्यसपछि अभिशेषले लगातार तीन विदेशी खेलाडी लाहिरु मिलान्था, हर्श थाकर र जिम्मी नीशमलाई आउट गर्दै लुम्बिनीलाई बलियो स्थितिमा पुर्याए।
जनकपुरले अन्तिम ४१ रन जोड्दा ७ विकेट गुमाएको थियो। अब, लुम्बिनी लायन्सले १३७ रनको लक्ष्य पछ्याउँदै आफ्नो ब्याटिङ यात्रा सुरु गर्नेछ।