एनपीएलमा आज कर्णाली-चितवन र लुम्बिनी-पोखरा आमनेसामने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ। दोस्रो खेल दिउँसो सवा १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ।
कर्णाली याक्स र पोखरा एभेन्जर्स दुवै टोली आफ्नो पहिलो जितको खोजीमा छन्। कर्णालीले यसअघि जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हार व्यहोरेको छ भने पोखरा चितवन र जनकपुरसँग पराजित भएको थियो। चितवन राइनोजले खेलेका दुवै खेल जितेको छ, जसमा पहिलो खेल काठमाडौं र दोस्रो पोखराविरुद्ध जितिएको थियो। लुम्बिनी लायन्सले पहिलो खेल विराटनगर किंग्ससँग गुमाएको थियो र शुक्रबार दोस्रो खेल खेल्दैछ।
टोलीका मार्की खेलाडीहरूमा कर्णालीबाट सोमपाल कामी, चितवनबाट कुशल मल्ल, लुम्बिनीबाट रोहित पौडेल, र पोखराबाट कुशल भूर्तेल छन्।