नेपाल प्रिमियर लिग मंसिरमा हुने, नयाँ लोगो सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ। क्यानले आज काठमाडौँमा एक कार्यक्रमका बीच प्रतियोगिताको लोगो र मिति सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कार्यक्रमको प्रमुख अतिथिका रूपमा लोगो सार्वजनिक गरेका थिए ।
प्रतियोगिताको लोगोमा बल र ब्याटको संयोजन गरिएको छ, जसमा नेपालको राष्ट्रिय चिन्ह चन्द्र सूर्यसमेत देख्न सकिन्छ। क्यानले यसलाई आफ्नो आधिकारिक फ्रेन्चाइज लिगको रूपमा प्रस्तुत गर्दै एनपीएललाई घरेलु क्रिकेटमा नयाँ युगको सुरुवात हुने बताएको छ। क्यानका सचिव पारस खड्काले टी-ट्वान्टी विश्वकपको कारण यसअघि मार्चमा आयोजना गर्ने योजना ढिला भएको जानकारी दिए।