एभेन्जर्सलाई ७ विकेटले हराउदै लगातार तेस्रो जित निकाल्न सफल बन्यो बोल्ट्स



जनकपुर बोल्ट्सले जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। पहिलो ब्याटिङ गरेको एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाएर १३८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। मार्कस क्रिच्लीले ३० बलमा ३५ रन बनाउँदै खेलको नेतृत्व गरे भने माइकल लिस्कले मात्र १३ बलमा २५ रनको आक्रामक योगदान दिएका थिए। अर्कोतर्फ जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई ठूलो स्कोर बनाउने अवसर दिएनन्। ललित राजवंशीले ३१ रन खर्चेर ३ विकेट लिए भने जेम्स निसमले २९ रनमा २ विकेट लिएका थिए।

१३९ रनको लक्ष्य पछ्याउँदै जनकपुरले कप्तान अनिल साहलाई मात्र १ रनमा गुमाएपनि ओपनर आसिफ शेख (३३ रन) र लाहिरु मिलन्था (४५ रन) को साझेदारीले टिमलाई बलियो अवस्थामा पुर्‍याएको थियो। अन्त्यतिर जेम्स निसमले २० बलमा नटआउट ४० रन बनाउँदै १७.१ ओभरमै टिमलाई जित दिलाउन सफल भएका थिए। उनले खेलमा ५ छक्का प्रहार गरेका थिए। यो जितसँगै जनकपुर बोल्ट्सले अपराजित यात्रा कायम राख्दै लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउन सफल बनेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर