कर्णाली याक्सले टस जितेर जनकपुर बोल्ट्स विरुद्ध ब्याटिङ गर्दै



नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको यस खेलमा भारतका चर्चित खेलाडी शिखर धवन र न्युजिल्यान्डका जिमी निशमको सहभागिताले दर्शकहरूको उत्साह बढाएको छ। कर्णाली याक्समा आबद्ध धवन शुक्रबार साँझ नेपाल आइपुगेका थिए। अघिल्लो वर्षसम्म भारतको आईपीएल खेल्दै आएका धवनले घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि एनपिएल खेल्न नेपाल आएका हुन्। धवनले नेपाली खेलाडीसँग खेल्न पाउँदा आफू उत्साहित रहेको बताएका छन्। उनी सोमपाल कामीको कप्तानीमा गुल्सन झा, देव खनाललगायत खेलाडीसँग मिलेर कर्णालीको तर्फबाट खेल्दैछन्।

जनकपुर बोल्ट्समा न्युजिल्यान्डका जिमी निशम आबद्ध छन्। आइतबार नेपाल आइपुगेका निशमले पहिलो खेल गुमाएका थिए। तर विराटनगर किंग्सविरुद्ध जनकपुरको ८ विकेटको जितमा टोलीको प्रदर्शनबाट प्रभावित भएको बताएका छन्। निशम, अनिलकुमार साहको कप्तानीमा आसिफ शेख, ललित राजवंशी, लाहिरू मिलान्था र हर्ष थाकरसहितको टोलीबाट खेल्दैछन्। २०१९ को एकदिवसीय विश्वकप फाइनलमा इंग्ल्यान्डविरुद्ध सुपर ओभरमा १३ रन बनाउँदै चर्चामा आएका निशमले जनकपुरको बलियो प्रदर्शनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

दुवै टोलीको तयारी र स्टार खेलाडीहरूको सहभागिताले सोमबार दिउँसो १ बजे हुने खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। धवनको अनुभव र निशमको बहुप्रतिभाले खेललाई विशेष बनाउन सक्नेछ। नेपालका शीर्ष खेलाडी र विदेशी खेलाडीहरूको जमघटले यो खेललाई एनपिएलको मुख्य आकर्षण बनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर