एनपीएल अघिको प्राक्टिस खेलमा पोखराले विराटनगरलाई हरायो, एनपीएलको उद्घाटन खेलमा को को भिड्ने?
नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स अभ्यास खेलमा पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२४ रन बनाउन सक्यो। विराटनगरका लागि फिर्दोस अन्सारी २१ रनमा अविजित रहे भने दीपक बोहराले १९ रन र बसिर अहमदले १८ रन बनाए। पोखराका बलर सागर ढकाल र तीर्थराज दासले समान २-२ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १६० रनको सम्मानजनक स्कोर बनाएको थियो। टोलीका मार्की खेलाडी कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ५५ रन बनाए भने माइकल लिस्कले २१ रन र किरण ठगुन्नाले १० रनको योगदान दिए। विराटनगरका बलर सन्दीप लामिछाने र सुवाष भण्डारीले २-२ विकेट लिए भने जितेन्द्र मुखिया, प्रतिश जिसी, र राजेश पुलामीले १-१ विकेट लिए।
यसअघि बुधबार भएको अर्को अभ्यास खेलमा जनकपुरले लुम्बिनीलाई ९६ रनले हराएको थियो। शनिबार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ।
