एनपीएलमा सुदूरपश्चिम रोयल्सको एअरलाइन्स पार्टनर बन्यो नेपाल एअरलाइन्स
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले नेपाल एअरलाइन्स कर्पोरेसनलाई एअरलाइन्स पार्टनरको रूपमा अनुबन्ध गरेको छ। एक समारोहमा रोयल्सका सीईओ प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट निर्देशक अनिल घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौतापछि एअरलाइन्सका घिमिरेले एनपीएलजस्तो प्रतियोगितासँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै रोयल्सलाई उपाधि जित्न शुभकामना दिए। रोयल्सका सीईओ खड्काले नेपाली क्रिकेटमा लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे।
रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, माया मेट्रो अस्पताललाई मेडिकल पार्टनर, नेपाल टेलिकमलाई टेलिकम पार्टनर, सूर्य प्लाईलाई स्ट्रेन्थ पार्टनर, र कुमारी जबलाई करिअर पार्टनरका रूपमा अनुबन्ध गरिसकेको छ।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म ८ टोलीको सहभागितामा हुनेछ। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुन्। टोलीको मेन्टर अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक जगत टमाटा हुन्। विदेशी खेलाडीहरूमा ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, र रोहन मुस्तफा छन्।