टिम प्रोफाइल: फ्यानको मन जित्न सफल कर्णाली, के जित्ला एनपिएलको ताज?
नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को “क्याप्स” भनेर खेल समर्थकहरुबिच परिचय बनाउन सफल कर्णाली याक्सले समर्थकका बीचमा छुट्टै पहिचान बनाउन सफल भएको छ। । टिमले सार्वजनिक गरेको एन्थमले लाखौं नेपालीको मन जितेर सबैको ध्यान आकर्षण गर्न सकेको छ। सुरुवातमा टिमप्रति केही शंका गरिएको भए पनि, समयसँगै कर्णाली याक्सले आफूलाई प्रमाणित गर्दै सम्भवतः एनपिएलको सबैभन्दा ठूलो ब्रान्ड भ्यालु निर्माण गर्न सक्षम देखिएको छ।
हिमालय बिल्डर्सको नाममा रहेको यो टिमले अनुबन्ध गरेका खेलाडीहरूले प्रतियोगितालाई फरक बनाउने विश्वास खेलप्रेमीहरूले गरेका छन्। भारतीय क्रिकेटका दिग्गज शिखर धवनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सको नाम अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चामा आएको छ।
२०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म चल्ने एनपिएलमा कर्णालीको मार्की खेलाडीको रूपमा नेपालका राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर सोमपाल कामी चयन भएका छन्। उनी दायाँ हाते मध्यम-तिब्र गतिका बलर र विस्फोटक ब्याट्सम्यानका रूपमा परिचित छन्। टोलीले सोमपाललाई नै कप्तानको भूमिकामा अघि सार्ने तयारी गरेको छ।
कर्णालीले प्रमुख प्रशिक्षकका रूपमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ। मल्लको नेतृत्वमा टिमले चुनौतीपूर्ण खेलहरूमा सशक्त प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
कर्णाली याक्समा ११ नेपाली र ४ विदेशी खेलाडी छन्। नेपाली खेलाडीहरूमा सोमपाल कामी (कप्तान), अर्जुन घर्ती (विकेटकिपर), गुलशन झा, देव खनाल, मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, रित गौतम, भुवन कार्की, युनिस सिंह, र नन्दन यादव छन्। विदेशी खेलाडीहरूमा भारतका शिखर धवन, पाकिस्तानका हुसैन तलात, हङ्कङका बाबर हायत, र वेस्ट इन्डिजका चाडविक वाल्टन छन्। १५ जनाको यो टीम नेपाल प्रिमियर लिगको उपाधि जित्न मैदानमा उत्रिने छ।
कर्णाली याक्सको टीम संयोजन बलियो देखिन्छ। शिखर धवनले एनपिएलमा ४ खेल खेल्ने र यदि मैदान र वातावरण अनुकूल भए अन्य खेल पनि खेल्न सक्ने सम्भावना रहेको छ। कर्णाली याक्सले आफ्नो ओपनिङ जोडीका रूपमा धवन र चाडविक वाल्टनलाई उपयोग गर्नेछ। मध्यक्रममा देव खनाल, रित गौतम, र बाबर हायत विस्फोटक ब्याटिङ गर्नेछन् भने अन्तिम ओभरमा गुलशन झा र हुसैन तलातले रनको गति बढाउनेछन्। बलिङतर्फ, सोमपाल कामी र नन्दन यादवको तिब्र गतिले विपक्षीलाई चुनौती दिनेछ भने भुवन कार्की र मौसम ढकालको स्पिनले खेललाई नयाँ मोड दिन सक्छ।
कर्णाली याक्सको पहिलो खेल मंसिर १७ गते जनकपुर बोल्ट्ससँग दिउँसो १:१५ बजे हुनेछ। यस खेलमा टिमले आफूलाई उपाधिका लागि बलियो दावेदारका रूपमा प्रस्तुत गर्नेछ।
कर्णाली याक्सलाई फ्रान्चाईज हिमालयन बिल्डर्सले सबैभन्दा कम बोली १ करोड ११ लाख ७० हजार रुपैयाँमा पाएको थियो। टिमले स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर र भ्लगर सिसन बानियाँलाई युथ ब्रान्ड एम्बेसडरका रूपमा चयन गरेको छ।