टिम प्रोफाइल: समर्थकको साथमा सुदूरपश्चिम उपाधिको खोजीमा
‘सुदूरको सान, मैदानमा तुफान’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ मा उत्रिन तयार सुदूरपश्चिम रोयल्स यसपटक उपाधि दावेदारका रूपमा प्रस्तुत भएको छ।
स्थानीय समर्थकहरूको अभूतपूर्व साथ पाएको यो टिमले प्रतियोगिताको ट्रफी आफ्नो क्षेत्रमा ल्याउन हरसम्भव प्रयास गर्नेछ। एम्पायर स्पोर्ट्सको स्वामित्वमा रहेको रोयल्सले अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन गर्दै बलियो टिम निर्माण गरेको छ।
मार्की खेलाडीको रूपमा रहेका दिपेन्द्रसिंह ऐरीलाई सुदूरपश्चिमले कप्तानीको जिम्मेवारी दिन सक्ने सम्भावना छ। सुदूरपश्चिम क्षेत्रका खेलाडीहरूलाई प्राथमिकतामा राखेर तयार गरिएको टिमले स्थानीय समर्थकहरूसँग गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न सफल भएको छ। ऐरीका साथ विनोद भण्डारी, नरेन साउद, खड्क बोहरा, भोजराज भट्ट, र नरेश बुढायर लगाएत सुदूरपश्चिमकै खेलाडीहरूले टिमलाई बलियो आधार प्रदान गरेका छन्।
सुदूरपश्चिम रोयल्समा नेपाली खेलाडीहरू यस प्रकार छन्:
दिपेन्द्र सिंह ऐरी (कप्तान)
विनोद भण्डारी (विकेटकिपर)
अर्जुन कुमाल
भोज राज भट्ट
अविनाश बोहरा
खडक बोहोरा
नरेश बुढाऐर
तेज कुमार कुँवर
वसन्त खत्री
अमित श्रेष्ठ
राजेन्द्र महर्जन
मनोज चन्द
टिमले स्थानीय खेलाडी छनोटदेखि विदेशी खेलाडी अनुबन्ध गर्दासम्म विशेष ध्यान दिएको छ। ब्याटिङमा सुदूरपश्चिम बलियो देखिए पनि बलिङमा भने टिम केही कमजोर देखिन्छ। टिमको ब्याटिङ लाइनअपमा ब्रान्डन म्याकमुलन, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, रोहन मुस्तफा, र सैफ अली जैब लगायत रहेका छन्। मध्यक्रममा आरिफ शेख, रोहन मुस्तफा, विनोद भण्डारी, र सैफ अली जैबले जिम्मेवारी सम्हाल्नेछन् भने कप्तान ऐरी फिनिसरको भूमिकामा महत्त्वपूर्ण हुनेछन्।
बलिङतर्फ, आक्रामक बलर स्कट कुगलेइन र अविनाश बोहराको प्रदर्शन टिमका लागि निर्णायक हुनेछ। स्पिनमा दिपेन्द्र ऐरी, नरेन साउद, रोहन मुस्तफा, र सैफ अली जैबले विविधता प्रदान गर्नेछन्। इशान पाण्डे, नरेश बुढाऐर, खड्क बोहरा, अमित श्रेष्ठ, र बसन्त खत्रीले पनि टिमलाई ट्रफी नजिक पुर्याउन विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विदेशी खेलाडीहरूका रूपमा न्यूजिल्यान्डका स्कट कुगलेइन, स्कटल्याण्डका ब्रान्डन म्याकमुलन, यूएईका रोहन मुस्तफा, र इंग्ल्यान्डका सैफ अली जैब छन्। यी खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट प्रदर्शनले टिमलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। कुगलेइनको फास्ट बलिङ, म्याकमुलनको आक्रामक ब्याटिङ, र मुस्तफाको अनुभवले टिमलाई बलियो बनाउनेछ।
सुदूरपश्चिमले नेपाली राष्ट्रिय टिमका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटालाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका चर्चित क्रिकेटर ब्राड हजलाई मेन्टरको रूपमा अनुबन्ध गरेको छ। यी अनुभवी व्यक्तिहरूको मार्गदर्शनमा सुदूरपश्चिमले ट्रफी घर लैजाने दृढ प्रयास गर्नेछ।
यस टिमले एनपिएलको पहिलो खेल मंसिर १८ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। समर्थकहरूले यो टिमलाई उपाधि दावेदारका रूपमा हेरेका छन्,र सुदूरपश्चिमले पनि उपाधि जित्ने सपना पूरा गर्न हरसम्भव प्रयास गर्नेछ।