चितवन राइनोजमा अनुबन्ध भएका जान निकोल लिफ्टी इटन र ल्यूक मार्टिन बेनकेन्स्टाइन काठमाडौं आइपुगे
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का टोली चितवन राइनोजमा अनुबन्ध भएका दुई विदेशी खेलाडी काठमाडौं आइपुगेका छन्। नामिबियाका जान निकोल लिफ्टी इटन र इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन बुधवार काठमाडौं आइपुगेका छन्। दुवै खेलाडीलाई टोलीका अध्यक्ष आयुष न्यौपाने र अन्य सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
इटन र ल्यूकका अलावा चितवन राइनोजमा अफगानिस्तानका हसन इसाखिल र इङ्ग्ल्यान्डका रवि बोपारा पनि विदेशी खेलाडीको रूपमा अनुबन्धित छन्। यसअघि नै हसन इसाखिल नेपाल आइसकेका छन्। चितवनका अर्को विदेशी खेलाडी, दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग भने अभ्यासक्रममा घाइते भएर एनपीएलबाट बाहिरिएका छन्।
चितवन राइनोजको मार्की खेलाडीमा कुशल मल्ल रहेका छन् भने मुख्य प्रशिक्षकमा उमेश पटवाल छन्। एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने छ, र चितवन राइनोजको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग हुने भएको छ।
चितवन राइनोजको टोलीमा कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा समावेश रहेका छन्।