एनपिएलमा कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे वाल्टन र हायात



नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीका लागि वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायत मंगलबार नेपाल आइपुगेका छन्। यी खेलाडीलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अनुबन्ध गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, र प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनीहरूको स्वागत गरे।

वाल्टनले वेस्ट इन्डिजका लागि १९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा २२५ रन बनाएका छन्। बाबर हायतले हङकङका लागि ७९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १० अर्धशतकसहित १,९१० रनको योगदान गरेका छन्।

कर्णाली याक्सको मार्की खेलाडीमा नेपालका राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन्। एनपिएलको आयोजन नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ गतेसम्म गर्नेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन्। कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

कर्णालीले आफ्नो पहिलो खेल मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर