प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी



नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको ट्रफी धरहरा परिसरमा सार्वजनिक गरियो। कार्यक्रममा एनपिएलका आठ टोलीका मार्की खेलाडीहरूको विशेष चर्चा गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गर्दै नेपाली खेलकुदको यो ऐतिहासिक दिनले खेलाडी र समर्थकमा उत्साह थपेको बताएका छन्। उनले भने, “गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक गर्नु नेपाली खेलकुदका लागि महत्त्वपूर्ण क्षण हो। यो प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ।”

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको स्पोर्ट्सम्यानसिपको प्रशंसा गर्दै उनले भने, “आसिफ शेखले आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ। उनको यस्तो शान्त स्वभावका कारण उनलाई ‘क्याप्टेन कूल’ भनेर उपनाम दिन सकिन्छ।”

काठमाडौं गुर्खाजका कप्तान करण केसीलाई उनले“भ्यालेन्टाइन बोय” को उपमा दिनुभएको थियो। उनले भने, “करणले राजधानीको नाम राख्ने आशा गरिएको छ।”

पोखरा एभेन्जर्सका कुशल भुर्तेलको कौशलको चर्चा गर्दै प्रधानमन्त्रीले भने, “कुशल भुर्तेल बलर हुन् कि ब्याटर, छुट्याउन कठिन छ। यसपटक उनी ९९ रनमा आउट हुन नपरोस्। शतक हान्ने शुभकामना छ।”

चितवन राइनोजका कप्तान कुशल मल्लबारे उनले भने, “ज्यानमा ताकत बोकेर छक्का हान्ने कुशल मल्लको शैली मनपर्छ। चितवन राइनोजलाई म ‘गैँडाज’ भन्छु।”

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलप्रति गर्व व्यक्त गर्दै उनले भने, “जसले जिते पनि देशले जित्नेछ। नेपाली क्रिकेटका कप्तानका रूपमा उहाँको जित सबै नेपालीको जित हो।”

विराटनगर किङ्सका सन्दीप लामिछानेलाई “नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर” को उपमा दिँदै प्रधानमन्त्रीले भने, “सन्दीपले बीबीएलदेखि आइपीएलसम्म ब्याट्सम्यानलाई नाच्न बाध्य पार्नुभएको छ।”

कर्णाली याक्सका सोमपाल कामीको योरकर बलिङको प्रशंसा गर्दै उनले भने, “कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनुहोस्। अर्को टी-२० विश्वकप खेल्ने तयारीमा जुट्नुहोस्।”

सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई “नेपाली क्रिकेटका बाघ” को संज्ञा दिँदै उनले भने, “छक्काको कीर्तिमानले मलाई प्रभावित बनायो। एनपिएलमा थप कीर्तिमान बनुन् भन्ने शुभकामना छ।”

एनपिएलको पहिलो संस्करण मंसिर १५ गतेदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुँदैछ। आठ टोलीबीचको यो प्रतिस्पर्धाले नेपाली क्रिकेटमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर