किन राखियो एनपीएलको ट्रफीमाथि ढुंगा ?
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा देखिन्छ । ट्रफीमा राखिएको उक्त ढुंगा अहिले चर्चाको विषय बनेको छ ।
क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा पत्थर राखिएको प्रस्ट पारेका छन्। उनले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। ‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको पत्थर यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ। एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा राखेका छौँ,’ उनले भने, ‘यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ।’
निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त पत्थर ल्याएका हुन्। सचिव खड्काले उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीप्रति धन्यवाद व्यक्त पनि गरेका छन्।
pic: nepal press