एनपिएलमा आबद्ध सात खेलाडी यू-१९ एसिया कप खेल्ने जाँदै



नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एसिसी यू-१९ एसिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। मंसिर १४ देखि युएईमा सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको तयारीस्वरूप यू-१९ टोली युएई जान लाग्दा सात खेलाडीले भने मंसिर १५ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का सुरुवाती खेल गुमाउनेछन्।

यू-१९ टोलीका कप्तान हेमन्त धामी र ओपनर आकाश त्रिपाठी जनकपुर बोल्ट्सका खेलाडी हुन्। उनीहरू एसिया कप खेल्न जाने भएकाले जनकपुरले उनीहरूलाई सुरुका खेलहरूमा गुमाउनेछ। यस्तै, सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद र ओपनर अर्जुन कुमाल पनि एसिया कप खेल्न जानेछन्।

कर्णाली याक्सका युनिसविक्रम सिंह ठकुरी, विराटनगर किंग्सका नरेन भट्ट, र चितवन राइनोजका रंजित कुमार पनि यू-१९ टोलीमा समावेश छन्।

नेपाली यू-१९ टोलीका प्रमुख प्रशिक्षक शक्ति गौचन, जो यसअघि लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षक थिए, एनपीएलका सुरुवाती खेलहरूमा अनुपस्थित हुनेछन्।

यि खेलाडी तथा प्रशिक्षक अधिकतम मंसिर २३ पछि एनपीएलमा फर्कनेछन्। एनपीएल पुस ६ सम्म चल्नेछ।

एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग, मंसिर १६ मा बंगलादेशसँग, र मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, जुन मंसिर २१ मा हुनेछ। फाइनल मंसिर २३ मा हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर