अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्समा
क्यानडियन अलराउन्डर साद बिन जफर नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ का लागि लुम्बिनी लायन्ससँग अनुबन्धित भएका छन्।
क्यानडाको टी–२० विश्वकप २०२४ मा कप्तानी गर्दै इतिहास रचेका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमताले लुम्बिनी लायन्सलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
पाकिस्तानमा जन्मिएका जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए। त्यसपछि उनले सबै फर्म्याटमा क्यानडाको राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्दै आएका छन्।
बायाँ हाते स्लो स्पिन बलिङ र बायाँ हाते ब्याटिङमा निपूर्ण जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेलेर आफ्नो अन्तर्राष्ट्रिय स्तरको प्रतिभा देखाइसकेका छन्।
टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा बिना रन दिएको कीर्तिमान राख्ने जफर पहिलो खेलाडी हुन्। उनले नोभेम्बर २०२१ मा पनामाविरुद्ध खेल्दै ४ ओभरमा २ विकेट लिंदै ४–४–०–२ को उत्कृष्ट प्रदर्शन गरेका थिए, जुन अहिलेसम्म अपराजित छ।
लुम्बिनी लायन्ससँग आबद्ध भएपछि जफरले भने, “नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु। मैले संकलन गरेको अनुभवले टिम र नेपाली क्रिकेटलाई सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ।”
एनपिएल २०२४ मंसिर १५ गतेबाट सुरु हुँदैछ। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्सविरुद्ध खेल्नेछ।