सुदूरपश्चिम रोयल्सलको धनगढीमा भव्य र्याली सम्पन्न
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीमा हजारौँ सहभागीको उपस्थितिमा भव्य र्याली आयोजना गरेको छ। र्याली धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरिएको थियो, जसमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, र अमित श्रेष्ठ लगायतका खेलाडीहरू सहभागी थिए।
र्यालीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोलीका मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा टोलीका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाही, क्यानका कार्यसमिति सदस्यहरू, विभिन्न खेल संघका पदाधिकारी, खेलाडीहरू, र ठूलो संख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
र्यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीहरू प्रस्तुत गरिएको थियो। रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले टोलीले सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखेको बताए। साथै, स्थानीय सहभागिताले खेलाडीहरूको मनोबल बढाएको र टोलीको उत्साहलाई थप उचाइमा पुर्याएको उनले बताए।
र्यालीको समापन रंगशालास्थित कभर्ड हलमा एक विशेष कार्यक्रमबीच सम्पन्न भएको थियो। अब, सुदूरपश्चिम रोयल्सले केही दिन धनगढीमै प्रशिक्षण गर्ने योजना बनाएको छ।
एनपिएल प्रतियोगिता क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ सम्म ८ टोलीको सहभागितामा सञ्चालन हुने छ। सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी कीर्तिमानी अलराउन्डर दीपेन्द्र सिंह ऐरी हुन्। टोलीका मेन्टर अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन्।