काठमाडौँ गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’ मा क्रिस कार्की
क्रिस कार्की सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गुर्खाजबाट खेल्ने भएका छन्। मंसिर १५ गतेबाट सुरु हुने यो प्रतियोगिताका लागि उनले ‘लोकल आइकोनिक प्लेयर’ को रूपमा शनिबार वान–डे क्रिकेट एकेडेमी, काँडाघारीमा सम्पन्न अन्तिम छनोटमा आफ्नो स्थान पक्का गरे।
काठमाडौँ गुर्खाजले यसअघि तीन स्थान—क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) बालुवाटार, सीईसी भक्तपुर, र द ग्रेट हिमालय क्रिकेट एकेडेमी ललितपुरमा प्रारम्भिक छनोट गरेका थिए। करीब ५ सय खेलाडीले नाम दर्ता गराएका छनोटबाट अन्तिम चरणमा ३२ खेलाडी पुगेका थिए। अन्ततः उत्कृष्ट प्रदर्शन गर्दै क्रिस टिममा छानिए।
एनपीएलको नियमअनुसार, प्रत्येक टिमले आफ्नो प्रदेशबाट एक खेलाडी लिने प्रावधानअनुरूप क्रिस काठमाडौँ गुर्खाजको टोलीमा परेका हुन्। अन्तिम छनोटमा काठमाडौँबाट ९, ललितपुरबाट १९, र भक्तपुरबाट ४ खेलाडी थिए।
क्रिसले यसअघि सन् २०१८ मा एसीसी यू-१६ प्रतियोगितामा नेपालबाट खेलेका थिए। उनले वसन्त शाहीलाई आफ्नो प्रदर्शन हेरिरहेकाले छनोटमा सजिलो भएको बताए। वसन्त शाही नै काठमाडौँ गुर्खाजका प्रमुख प्रशिक्षक हुन्। ट्यालेन्ट हन्टबाट टिमले क्रिससहित अन्य ६ खेलाडी—विपिन न्यौपाने, असिम श्रेष्ठ, अथर्व पौडेल, शार्दूल भट्ट, राजेन्द्र बम, र कमल गुप्तालाई पनि समेटेको छ।
क्रिसबाहेक अन्य ६ खेलाडीले पनि टोलीसँग प्रशिक्षणमा भाग लिनेछन्। टिमले तिनीहरूलाई प्रोत्साहनस्वरूप जनही २५ हजार रुपैयाँ दिनेछ।
काठमाडौँ गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी हुन्। अक्सनबाट टिमले शाहब आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी, र प्रतीक श्रेष्ठलाई छानेको छ।
विदेशी खेलाडीका रूपमा गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस, र इंग्ल्यान्डका स्टेफन इस्किनाजी तथा ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ।