नेपाल प्रिमियर लिगका लागि राखेपमा हेल्प डेस्क स्थापना
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हेल्प डेस्क स्थापना गरिएको छ। राखेप सदस्य-सचिव टंकलाल घिसिङले डेस्कले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आवश्यक समन्वय गर्ने जानकारी दिए।
डेस्कको उद्घाटन समारोहमा बोल्दै घिसिङले विदेशी खेलाडीहरूका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापनमा डेस्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनका अनुसार, यस डेस्कले एनपीएलसहित अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको सञ्चालनमा सहजता ल्याउनेछ।
क्यानले मंसिर १५ देखि पुस ७ सम्म एनपीएल आयोजना गर्ने तयारी गरेको छ। यसका लागि राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लिग र फ्रेन्चाइज लिगहरूको व्यवस्थापनका लागि उक्त डेस्क स्थापना गरेको हो।
उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको डेस्कले लिग सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। राखेपले सानुराजा केसीको संयोजनमा प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहने गरी तीन सदस्यीय डेस्क गठन गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए।