एनपिएलमा आज प्लेअफ यात्रा निर्धारण गर्ने अन्तिम खेल, कुन कुन भिड्दै ?
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरण अन्तर्गत सोमबार त्रिवि मैदान, कीर्तिपुरमा अन्तिम खेल हुँदैछ। बिहान ९ बजे सुरु हुने खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।
सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ। उसको नेट रनरेट राम्रो भएकाले आजको खेलमा हार भए पनि क्वालिफायर खेल्ने सुनिश्चित छ। कर्णालीका लागि भने यो खेल निर्णायक छ। समान ८ अंकका साथ काठमाडौं गुर्खाज पाँचौं स्थानमा रहेको छ भने कर्णाली नेट रनरेटका आधारमा चौथो स्थानमा छ।
यदि सुदूरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरे काठमाडौंले प्लेअफमा स्थान बनाउनेछ। तर, कर्णाली झिनो अन्तरले मात्र पराजित भए पनि ऊ नै प्लेअफ पुग्ने सम्भावना रहन्छ। यस कारण खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
अंकतालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने जनकपुर दोस्रो र चितवन तेस्रो स्थानमा छन्। प्लेअफको संरचना अनुसार शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछन्। तेस्रो र चौथो स्थानका टोलीले इलिमिनेटर खेल्नेछन्। क्वालिफायरको विजेता टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ।