जनकपुरको पहिलो हारले दिलायो सुदुरपश्चिमलाई खेल तालिकामा शीर्ष स्थान
सुदूर पश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को १८औँ खेलमा जनकपुर बोल्ट्सलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सशक्त प्रदर्शन गरेको छ।सुदूर पश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। रोयल्सको इनिङ्समा बिनोद भण्डारीले ३३ रन (३७ बल) बनाएर महत्वपूर्ण योगदान दिए। सैफ जइबले २१ रन बनाए, तर टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो स्कोर गर्न सकेन। रोयल्सका लागि सात खेलाडीले दोहोरो अंक छुन नसकेका थिए।जसमा रोयल्स का कप्तान दीपेन्द्र सिंह ऐरी समेत ३ बलमा ० रन लिएर आउट भएका थिए।
जनकपुर बोल्ट्सका बलर किशोर महतो उत्कृष्ट देखिए, जसले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए। शेर मल्ल र अर्निक यादवले २-२ विकेट लिएर रोयल्सलाई थप दबाबमा पार्न सफल बनेका थिए। बलिङ आक्रमण सशक्त भए पनि जनकपुरको फिल्डिङ र डेथ ओभर नियन्त्रण अपेक्षाकृत कमजोर देखियो, जसले रोयल्सलाई केही महत्वपूर्ण रन जोड्न सौलियत दिएको थियो।
१२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सको सुरुवात निकै खराब रह्यो। कप्तान अनिल साह ७ बलमा खाता नखोली आउट भए। विकेटपछिको दवाबले मध्यक्रमको प्रदर्शनलाई पनि प्रभावित गर्यो। बोल्ट्सका ब्याटरहरू कुनै पनि साझेदारी गर्न नसक्दा टोली १२.१ ओभरमै ५१ रनमा समेटियो। जोशुआ ट्रम्प (१३ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बटुल्न सकेनन्।
सुदूर पश्चिमका बलरहरूले सानदार प्रदर्शन गरे। हरमित सिंहले ४ ओभरमा २ मेडन राख्दै २ रनमात्रबोल्ट्सका खर्चेर २ विकेट लिए, जुन बोल्ट्सको पतनको मुख्य कारक रह्यो। इसान पाण्डे र दिपेन्द्रसिंह ऐरीले पनि २-२ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए। सैफ जइब, नरेन साउद, र स्कट कुग्गेलिजिनले १-१ विकेट लिएका थिए। यो जित सँगै खेल तालिकामा सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा,जनकपुर बोल्ट दोस्रो स्थानमा , चितवन राइनो तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहेका छन ।