प्लेअफमा पुग्न काठमाडौं गुर्खाजलाई आजको खेल जित्नैपर्ने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबार दुई खेल हुँदैछन्।
त्रिवि मैदान, कीर्तिपुरमा बिहान ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्स भिड्नेछन्, जबकि दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स बीच खेल हुनेछ।
आजको खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौंलाई प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ।
यदि काठमाडौं जितेमा चौथो स्थानमा रहेको कर्णाली याक्ससँग अंक बराबरी ८ हुने छ। कर्णालीले आफ्नो अन्तिम खेल भोलि सुदूरपश्चिमसँग खेल्ने छ। यदि सुदूरपश्चिमसँग कर्णाली पराजित भए र काठमाडौं आजको खेल जिते, भने काठमाडौंको प्लेअफमा जाने सम्भावना जीवित रहने छ।
यदि काठमाडौं पराजित भए, प्लेअफमा जाने टोलीको निर्णय आजै हुने छ। विराटनगर र पोखरा यसअघि नै लिगबाट बाहिरिसकेका छन्।
शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएसँगै विराटनगर र पोखरा प्लेअफ होडबाट बाहिरिएका थिए। लुम्बनी लायन्स भने प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको थियो।
जनकपुर तालिकाको शीर्ष स्थानमा छ, सुदूरपश्चिम दोस्रो, चितवन तेस्रो, र कर्णाली चौथो स्थानमा छन्।