एनपीएल सञ्चालन गर्ने बाटो खुल्यो, सर्वोच्च अदालतले गर्यो रिट अस्वीकार
नेपाल क्रिकेट संघ (क्यान) को नेपाल प्रिमियर लिग (एनपीएल) विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश नआएसँगै क्यानलाई राहत मिलेको छ। जोरा स्पोर्टस म्यानेजमेन्ट प्रालिका आमीर अख्तरले नेपाल प्रिमियर लिग नाम आफूले दर्ता गरेर सञ्चालन गरेको दाबी गर्दै सोही नाममा अर्को लिग गर्न नपाइने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यस रिटको बारेमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश भने जारी गरेको छ।
अख्तरले यसअघि नेपाल प्रिमियर लिग नाममा क्रिकेट फ्रेन्चाइज लिग आयोजना गरेका थिए, तर त्यसमा विवाद भएपछि उनले एभरेष्ट प्रिमियर लिग नामबाट अर्को संस्करण आयोजना गरेका थिए। यस समयमा क्यान आईसीसीको निलम्बनमा रहेको थियो, जसका कारण क्यान बाहिरबाट तीनवटा लिग आयोजना भएका थिए।
क्यानको निलम्बन फुकुवा भए पछि क्यानले आफूले मात्र लिग आयोजना गर्ने निर्णय गर्यो, जसका कारण ईपीएल, डीपीएल र पीपीएल रोकिए। गत वर्ष क्यानले सञ्चालन गरेको नेपाल क्रिकेट लिग पनि विवादित भएको थियो। यस वर्ष भने क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता सञ्चालन गर्दै छ, र प्रतियोगिताका अधिकांश तयारीहरु, जस्तै टिम चयन र खेलाडी चयन पनि पूरा भइसकेका छन्।
